रुग्ण आयोजनाका ठेक्का तोड्न मुख्यमन्त्री कँडेलको निर्देशन

183 Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिएर समयमै काम नगरी आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक योजना तथा शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।

मन्त्रालयको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले जतिसुकै पहुँच र शक्ति भए पनि समयमै काम नगर्ने ठेकेदारप्रति सरकार लचिलो नहुने स्पष्ट पारे। सरकारले बजेट छुट्याउँदा पनि काम नगर्दा सरकारप्रति नागरिकको अविश्वास बढ्ने उनले बताए।

“पैसा छ, काम भइरहेको छैन र आयोजना अलपत्र छ भने त्यस्ता निर्माण व्यवसायीप्रति लचकता आवश्यक छैन,” उनले भने। सकेसम्म सहजीकरण गरेर आयोजना सम्पन्न गराउने, तर सहजीकरणले पनि परिणाम नआए नियमसंगत रूपमा ठेक्का अन्त्य गर्न उनले निर्देशन दिए।

प्रदेश राजधानीअन्तर्गत सडक निर्माणमा लापरवाही भएको भन्दै पूर्वमन्त्रीसमेत संलग्न ठेक्का तोडिएको उदाहरण दिँदै, तोडिएका आयोजनालाई पुनः सञ्चालन गर्न आवश्यक तयारी गर्न पनि मुख्यमन्त्रीले निर्देशन दिए। “पावरबाट नडराउनुहोस्, सरकार जिम्मा लिन्छ,” उनले स्पष्ट पारे।

त्यसैगरी, काम सम्पन्न भइसकेपछि भुक्तानीमा ढिलाइ नगर्न मन्त्रालयलाई निर्देशन दिँदै उनले भने, “काम भएको छ भने बहाना नबनाई बोलाएर भए पनि भुक्तानी दिनुस्।”

मुख्यमन्त्री कँडेलले पुरानै मानसिकता र कार्यशैलीले नागरिकले खोजेजस्तो परिणाम दिन नसकिने बताए। नागरिकको अपेक्षा र राज्य संयन्त्रको कार्यशैलीबीच ठूलो खाडल रहेको उल्लेख गर्दै उनले कार्यशैली परिवर्तन अपरिहार्य रहेको धारणा राखे।

बजेट र कार्यक्रम निर्माणमा राजनीतिक नेतृत्वको भूमिका भए पनि कार्यान्वयनको मुख्य जिम्मेवारी कर्मचारीतन्त्रको हुने भएकाले कर्मचारीले कार्यकारी भूमिकामा सक्रिय भएर काम गर्नुपर्ने उनले बताए। साथै, “नेता रिसाउँछन् कि भनेर नहुने काम बोकेर नहिँड्नुस्,” भन्दै कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिए।