पार्टी नफुटोस् भनेर मध्यमार्गी धार रोजेँ : डा. शेखर कोइराला

166 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टी जोगाउन शान्त र सौम्य बाटो रोजेको स्पष्ट पारे। उनले विशेष महाधिवेशनका बेला आफू कठोर धारमा गएको भए कांग्रेस विभाजन हुन सक्ने अवस्था रहेको उल्लेख गरे।

‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हुँ,’ उनले भने, ‘यो पार्टीको आन्तरिक प्रक्रिया हो । अहिले डा. डिला संग्रौला जी र म एकै ठाउँमा छौँ, निर्वाचनको दौडमा सँगै अघि बढिरहेका छौँ । त्यसैले अब महाधिवेशनको विषय सकिएको छ, त्यसतर्फ नजाऔँ ।’

प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको उल्लेख गर्दै कोइरालाले यस निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने दाबी पनि गरे। उनले जनताले स्थायित्व र लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्ने विश्वास व्यक्त गरे।

जेन–जी आन्दोलन अघिसम्म आफू सांसदका रूपमा रहँदा नीति निर्माणदेखि जनताको जीवन सहज र सुखद बनाउने काममा केन्द्रित रहेको कोइरालाको भनाइ थियो। उनले आगामी दिनमा पनि पार्टी एकता र देशहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।