काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि सबै टिमहरूले तयारी पूरा गरेको बताएका छन्।
शनिबार साँझ नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजना गरिएको प्रि–म्याच प्रेस कन्फरेन्समा सबै टिमका कप्तानहरूले प्रतियोगिताका लागि उत्साहित र तयार रहेको जानकारी दिए।
नेपाली टोलीकी कप्तान इन्दु बर्माले भने, “हामी राम्रो क्रिकेट खेल्नेछौं। घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित छौं। १८ वर्षपछि यस्तो अवसर पाएका छौं। अभ्यास खेलबाट धेरै कुरा सिक्ने मौका पायौं। उत्साहित र कन्फिडेन्ट छौं।”
इन्दुले प्रतियोगिता नेपालमा आयोजना हुनुलाई महिला क्रिकेटका लागि टर्निङ पोइन्ट पनि भनेकी छिन्। “हामीले जति मेहेनत गरेका छौं, आगामी पुस्ताका लागि राम्रो वातावरण बनाउने प्रयास गरेका छौं। प्लाटफर्म सेट भएको छ र क्यानका लागि पनि अवसर हो,” उनले भनिन्।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग भिड्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया