राज्य एकीकरणमा पूर्वजहरूको योगदान महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

165 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्य एकीकरणमा पूर्वजहरूले पुर्‍याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमार्फत यस्तो बताउनुभएको हो । उहाँका अनुसार पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गर्दै आधुनिक नेपाल राष्ट्रको निर्माण गर्नुभएको थियो ।

पृथ्वीनारायण शाहलाई सम्झँदा उहाँले नेपालको एकीकरणमार्फत राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचान स्थापित गर्नुभएको स्पष्ट देखिने राष्ट्रपति पौडेलको भनाइ छ । साथै शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सशक्त अर्थतन्त्र निर्माण, राष्ट्रप्रेमको विकास, छिमेकी राष्ट्रहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण, राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पृथ्वीनारायण शाहका दिव्योपदेशबाट मार्गदर्शन लिन सकिने बताउनुभयो ।

राष्ट्र निर्माणको अभियानलाई इतिहासका विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारण आज हामी सार्वभौम र स्वतन्त्र नेपालका रूपमा गर्व गर्न सक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

यही ऐतिहासिक आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी तथा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा संवैधानिक व्यवस्था गरिएको राष्ट्रपति पौडेलले स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सुख–समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ ।