कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

14 Shares

काठमाडौं । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिटको आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि सामूहिक आक्रमण र कुटपिट गरेको आरोप छ । उक्त घटनासँग सम्बन्धित जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढाइएको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

यसअघि घटनामा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दर्ता गर्न जाँदा प्रहरीले आलटाल गरेको भन्दै पीडित पक्षले गुनासो गर्दै आएको थियो ।

पीडित सीताराम शर्माका अनुसार प्रतिनिधिसभा सदस्य शाह, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूह उनको निवासमा प्रवेश गरी अन्धाधुन्ध कुटपिट गरेको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।