श्रावण सुरु, चुरापोते पसलमा महिलाको चहलपहल

11 Shares

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिने श्रावण महिनाको सुरुवातसँगै काठमाडौँ उपत्यकाका चुरा–पोते पसलहरूमा महिलाहरूको चहलपहल बढेको छ।

विशेष गरी इन्द्रचोक, नयाँ सडक, असन र विशाल बजार क्षेत्रका चुरा–पोते पसलहरूमा हरिया पोते, रङ्गीचङ्गी चुरा खरिद गर्ने तथा मेहेन्दी लगाउने महिलाहरूको उल्लेख्य भीड देखिन थालेको छ। हिन्दु धार्मिक मान्यताअनुसार श्रावण महिना भगवान् शिवलाई समर्पित मानिन्छ। यस अवधिभर धेरै भक्तजनले व्रत बस्ने, शिवको पूजा–आराधना गर्ने तथा धार्मिक गतिविधिमा सहभागी हुने परम्परा रहिआएको छ।

यही अवसरमा महिलाहरूले हरियो रङका पोते, चुरा र वस्त्रलाई विशेष प्राथमिकता दिने चलन पनि छ। विशेष गरी विवाहित महिलाहरूले हरियो पोते, रङ्गीचङ्गी चुरा र हातभरि मेहेन्दी लगाउने परम्परा निर्वाह गर्दै आएका छन्।

धार्मिक एवं सांस्कृतिक विश्वासअनुसार हरियो पोते र चुराले दाम्पत्य जीवनमा सुख, समृद्धि र श्रीमान्को दीर्घायुको कामना व्यक्त गर्ने प्रतीक मानिन्छ। त्यसै गरी, मेहेन्दीको गाढा रङलाई पति–पत्नीबिचको प्रेम र आत्मीयताको प्रतीकका रूपमा हेर्ने जनविश्वास पनि रहिआएको छ।