कांग्रेस र एमालेबीच बजेटको विषयलाई लिएर प्रदेशको सत्ता गठबन्धनमा गम्भीर गडबडी

20 Shares

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेशको सत्ता गठबन्धनमा गम्भीर गडबडी देखिएको छ।

सातै प्रदेशमा एमालेसँग सत्ता सहकार्य तोड्ने पक्षमा कांग्रेस देखिएको हाे । कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको मदभेदलाई लिएर कांग्रेसले एमालेसँगको सातै प्रदेशको सत्ता गठबन्धन तोड्ने तयारी गरेको छ। कांग्रेस स्रोतले औपचारिकरुपमा निर्णय नभए पनि पदाधिकारी तहमा एमालेसँग सत्ता गठबन्धन तोड्ने छलफल भइसकेको जनाएकाे हाे ।

बुधबार बिहान मात्र एमाले नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका थिए । कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारमा भने एमालेका मन्त्रीलाई बर्खास्त गरिएको हाे । मुख्यमन्त्री कमलबहादुर शाहले चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी कांग्रेस नेतृत्वके सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई प्रदेशमा देखिएको विवादले सातै प्रदेशमा कांग्रेस–एमालेको सत्ता गठबन्धन धर्मराएको हाे।

एमाले सत्ता गठबन्धनको मर्मअनुसार नचलेकाले सत्ता गठबन्धन तोड्ने अवस्थामा पुगेको कांग्रेस स्रोत बताउँछ । एमालेसँगको गठबन्धन तोडेर कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग गठबन्धन गर्ने तयारी गरेको बुझिएको छ । सत्ता गठबन्धनका लागि कांग्रेस र नेकपाबीच कुरा समेत भइरहेको छ । एमाले नेतृत्वमा रहेको लुम्बिनी प्रदेशमा पनि बजेटको विषयलाई लिएर सत्ता गठबन्धनमा गडबडी शुरु भएकाे हाे ।