काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले हालको अवस्था आउने कल्पना आफूले कहिल्यै नगरेको बताएका छन्।
गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको सहमति यति चाँडै भत्कन सक्छ भन्ने नलागेको उनले दाबी गरे।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै घिसिङले भने,
“म आज अत्यन्तै मर्माहित भएको छु। यस्तो अवस्था आउँछ भनेर लागेको थिएन। यो १२ दिन मेरो लागि ठूलो बिलखबन्दमा बित्यो। अगाडि बढ्न खोज्दा रोकावट आयो, पछि हट्न खोज्दा आम नेपाली र जेन–जी भाइबहिनीहरूको सपना अधुरो छोड्न नमिल्ने अवस्था थियो।”
घिसिङले सहमतिका बुँदा रास्वपाले कार्यान्वयन गर्न नमानेको आरोप समेत लगाए। उनका अनुसार करिब दुई महिनादेखि पार्टी कठिन परिस्थितिबाट गुज्रिरहेको थियो।
“कठिन परिस्थितिमा उज्यालो नेपाल पार्टीको नेतृत्व गर्नुभएको अनुपकुमार उपाध्यायलाई धन्यवाद दिन चाहन्छु। पछिल्ला केही समय हाम्रो लागि अत्यन्तै पीडादायी रह्यो,” उनले भने।
उनले पछिल्ला १२ दिनमा पटक–पटक र धेरै चरणमा छलफल भए पनि सहमति कार्यान्वयन हुन नसकेको बताए।
“पुस १४ गते भएको सहमति १२ दिनसम्म कार्यान्वयन भएन। लिखितमा नसमेटिएका धेरै सहमति पनि थिए। एकीकरण प्रक्रियालाई कसरी अघि बढाउने भन्नेमा हाम्रो ठूलो माग थियो—छिटो कार्यान्वयन गरौँ भन्ने,” घिसिङको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया