काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले भने, “कांग्रेस फुट्छ कि भन्ने शंका छ। तर हामी पार्टी विभाजन हुन दिदैनौँ। विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने आशंका छ, तर हामी पार्टी विभाजन रोक्छौँ।”
उनले पार्टीले विगत सम्झनुपर्ने र त्यसै आधारमा भविष्य सुरक्षित गर्नुपर्ने औँल्याए। भण्डारीले थपे, “नीतिगत वा संकल्प महाधिवेशनमा रुपान्तरण गरेर चार महिना पछाडिको महाधिवेशनमा पार्टी अझ बलियो भएर आउन सक्छ।”
पार्टी नेतृत्वले जेनजी आन्दोलनको मनोभावना सम्बोधन गर्न नसकेकोमा पनि उनले गुनासो व्यक्त गरे। भण्डारीले भने, “जेनजी आन्दोलनपछि विशेष महाधिवेशन भएको भए पार्टीमा उत्साह थपिन्थ्यो। भेरिफाइड नभए पनि ५४ प्रतिशत सदस्यको सिफारिसपछि सेन्ट्रल कमिटीले यसलाई ग्रहण गर्नुपर्थ्यो।”
उनले विशेष महाधिवेशन पक्षधरको विचारलाई नजरअन्दाज गरिएकोमा आपत्ति समेत जनाएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया