पार्टी विभाजनको आशंका निराधार : विशेष महाधिवेशनबारे महामन्त्री शर्मा

163 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने दाबी गर्नुभएको छ।

महामन्त्री शर्माले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आएमा आफू सबैभन्दा पहिले महाधिवेशन हलबाट बाहिरिने स्पष्ट गर्नुभएको छ।

काठमाडौंमा यही पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद चर्किँदै गएको सन्दर्भमा उहाँले सार्वजनिक रूपमा यस्तो धारणा राख्नुभएको हो। विशेष महाधिवेशनबारे उठिरहेका आशंकाहरूको जवाफ दिँदै महामन्त्री शर्माले पार्टी एकतालाई कुनै पनि हालतमा असर नपर्ने जिकिर गर्नुभएको छ।

यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने विषयमा यसअघि नै पत्रकार सम्मेलनमार्फत जानकारी दिइसकिएको छ। उक्त विशेष महाधिवेशनमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा सहभागी हुने घोषणा गरिसक्नुभएको छ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनको विपक्षमा देखिएको छ। तर महामन्त्रीद्वय शर्मा र थापा पक्षका नेताहरूले जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएका छन्।

b.webp jpg.webp