काठमाडाैं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय हित, सहयोग तथा समसामयिक विषयमा छलफल भएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि प्रदान गर्दै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभयो।
प्रधानमन्त्री कार्कीले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले विशेषगरी आगामी फागुनमा हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको छ। दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको विकास र लोकतन्त्र मजबुत बनाउन उक्त भेटले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया