विशेष महाधिवेशन गर्न कांग्रेसभित्र दबाब, पुस २८ भित्रै गर्न माग

160 Shares

काठमाडाैं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २८ भित्रै विशेष महाधिवेशन सम्पन्न गर्न माग गर्दै दबाब बढाएका छन्।

विशेष महाधिवेशन पक्षधरहरूले शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्। नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विधानबमोजिम ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित माग गरिएको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ। विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको पनि उनीहरूले दाबी गरेका छन्।

विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले गत असोज २९ गते दर्ता गरिएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य भएको बताउनुभयो। कांग्रेससँग विशेष महाधिवेशन बाहेक अन्य कुनै विकल्प नरहेको उहाँको भनाइ छ।

लोकतान्त्रिक पार्टी भएर पनि विधानका बाध्यकारी व्यवस्थालाई बेवास्ता गरिएमा संविधान र विधिको पक्षमा उभिएर नागरिकसमक्ष जाने नैतिक अधिकार कांग्रेससँग नहुने उहाँले उल्लेख गर्नुभयो।

विशेष महाधिवेशनले पार्टीमा विभाजन नभई एकता मजबुत बनाउने विशेष महाधिवेशन पक्षधरहरूको दाबी छ। उनीहरूले पार्टी फुटाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्।