सरकारले युद्धतर्फ धकेल्न खोज्यो : माओवादी महासचिव विप्लव

199 Shares

काठमाडौँ। नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’**ले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो पार्टीलाई युद्धतर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले कपिलवस्तु र अर्घाखाँचीमा रहेका पार्टीका श्रम शिविरहरूमा प्रहरीले अपरेशन चलाएको भन्दै सरकार निर्वाचनभन्दा युद्ध रोज्न खोजिरहेको दाबी गर्नुभयो। उहाँले सो घटनाप्रति कडा आपत्ति जनाउँदै आक्रोश व्यक्त गर्नुभएको हो।

उहाँले ती क्षेत्रमा खटिएका प्रहरी तत्काल फिर्ता नबोलाए सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिनुभयो।
‘सरकार चुनाव गर्न चाहन्छ कि युद्ध ?’ भन्दै उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्नुभएको थियो।

महासचिव विप्लवले उक्त अपरेशन गलत भएको स्वीकार गर्दै माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिनुभयो। साथै, उहाँले आगामी निर्वाचनमा देशभरका सबै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गर्नुभयो।