काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङबीच पार्टी एकताका लागि हस्ताक्षर हुने भएको छ।
स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभएमा शुक्रबार साँझसम्म मेयर शाह, सभापति लामिछाने र संरक्षक घिसिङबीच एकताको समझदारीपत्रमा हस्ताक्षर हुने तयारी गरिएको हो। हस्ताक्षरअघि तीनै पक्षले आ–आफ्नो गृहकार्य पूरा गरी सामूहिक भेटवार्ता गर्ने तयारी गरिरहेका छन्।
सबै पक्ष एकै ठाउँमा भेला भएपछि छलफलमार्फत सहमतिमा पुगेर शुक्रबार नै एकताको दस्तावेजमा हस्ताक्षर गर्ने तयारी रहेको स्रोतले जनाएको छ। कुनै अवरोध नआएमा शनिबार नै एकता घोषणा सभा गर्ने योजना समेत रहेको बताइएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्ति र जेन–जी युवाहरूलाई एक ठाउँमा उभ्याएर पुराना राजनीतिक शक्तिलाई चुनौती दिने रणनीतिका रूपमा यो एकतालाई हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया