प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा महामन्त्री शर्माको

178 Shares

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

बिहीबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले आफू उम्मेदवार नबन्नेबारे झापाको क्षेत्रीय समितिलाई जानकारी गराइसकेको बताए। लगातार तीन पटकसम्म उम्मेदवार भइसकेकाले यसपटक उम्मेदवार नबन्ने निर्णय गरेको उनले स्पष्ट गरे।

गत निर्वाचनमा आफू आफ्नै निर्वाचन क्षेत्रमा सीमित भएको उल्लेख गर्दै महामन्त्री शर्माले आगामी चुनावमा भने देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको पक्षमा सक्रिय भएर लाग्ने जानकारी दिए।

उनले आगामी निर्वाचनमा कांग्रेसले अनुहार परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै बढीभन्दा बढी युवा र नयाँ अनुहारलाई अवसर दिनुपर्नेमा जोड दिए।