एनपीएल विजेता लुम्बिनी लायन्सले ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने

232 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट आयोजना गर्ने भएको छ।

उपाधि जितेपछि हाल च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा रहेको लुम्बिनी लायन्सले टुरको अन्तिम दिन पुस १६ गते बुटवलमा भव्य कन्सर्ट गर्ने घोषणा गरेको हो। सेलेब्रेसन कन्सर्ट बुटवलस्थित बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ। कन्सर्टका लागि टिकट इसेवामार्फत खरिद गर्न सकिने जनाइएको छ।

च्याम्पियन्स ट्रफी सेलेब्रेसन टुरअन्तर्गत लुम्बिनी प्रदेशका सबै जिल्लाका महत्वपूर्ण स्थान, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक धरोहरहरूको भ्रमण गरिँदै आएको छ। यस क्रममा आशीर्वाद ग्रहण तथा विभिन्न कार्यक्रममार्फत नेपाली क्रिकेटको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने प्रयास भइरहेको लुम्बिनी लायन्सले जनाएको छ।

सबै जिल्लामा ट्रफी सेलेब्रेसन टुर सम्पन्न भएपछि बुटवलमा आयोजना हुने कन्सर्टमा चर्चित कलाकारहरू, लुम्बिनी लायन्सका खेलाडी तथा व्यवस्थापन टोली, साथै नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान दिएका क्रिकेट लेजेन्डहरूको विशेष उपस्थिति रहने बताइएको छ।

लुम्बिनी लायन्सले एनपीएल दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो।