निर्वाचनको माहोल बनाउँदै सरकार, दल कार्यालयमै पुगेर छलफल : रास्वपा

188 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दलहरूको कार्यालयमा पुगेर छलफल गर्नुले सरकारले सकारात्मक सन्देश दिएको बताएको छ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता मनिष झाले विगतमा सरकारसँग छलफल गर्न सिंहदरबार धाउनुपर्ने अवस्था रहेकामा अहिले सरकार स्वयं राजनीतिक दलहरूको कार्यालयमा पुग्नु सकारात्मक परिवर्तन भएको बताउनुभयो। उहाँले यसले राजनीति र निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो। निर्वाचनको माहोल बनाउन सरकार तयारीमा जुटेको भन्दै उहाँले सरकारको प्रशंसा पनि गर्नुभयो।

छलफलमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन बाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार रास्वपाले एकमतका साथ निर्वाचनमा जाने प्रतिबद्धता जनाएको छ। सरकारले निर्वाचनको तयारीका लागि आवश्यक सबै काम गरिरहेको जानकारी गराउँदै मन्त्री सिन्हाले आगामी फागुन २१ गते हुने निर्वाचन नै अन्तरिम सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो।

मन्त्री सिन्हाले सरकारले तयारी गर्नुअघि नै रास्वपा निर्वाचनमा होमिएको आभास भएको उल्लेख गर्दै निर्वाचन नहुने हो कि भन्ने कुनै शंका नगर्न आग्रह गर्नुभयो। इतिहासमै पहिलोपटक सरकार राजनीतिक दलहरूको कार्यालयमा पुगेको उदाहरण रहेको उहाँको भनाइ छ।