काठमाडौं। अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँग भइरहेको छलफल सकारात्मक र फलदायी रहेको बताउनुभएको छ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग राप्रपा कार्यालयमा भएको भेटका क्रममा मन्त्री सिन्हाले आगामी प्रतिनिधि सभा निर्वाचनलाई कसरी प्रभावकारी, स्वतन्त्र, निष्पक्ष तथा धाँदलीरहित रूपमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार राप्रपाले निर्वाचन गराउनैपर्ने स्पष्ट धारणा राख्दै त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ।
मन्त्री सिन्हाले आगामी दिनमा निर्वाचनसम्बन्धी आवश्यक सुझावहरू निरन्तर प्रदान गर्ने विषयमा समेत छलफल भएको बताउनुभयो।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेल तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको अनुकूल वातावरण निर्माणका लागि विभिन्न राजनीतिक दलहरूको कार्यालयमा पुगेर छलफल गरिरहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया