शीतलनिवास वार्ता : निर्वाचन सफल बनाउने समझदारी, बालुवाटारमा फेरि विस्तृत छलफल

191 Shares

काठमाडाैं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्ने विषयमा प्रमुख राजनीतिक नेतृत्वबीच समझदारी भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्वाचन सफल बनाउन सहमति बनेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचनको वातावरण निर्माणका लागि विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारीसमेत बैठकमा बनेको छ।

छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै राजनीतिक निकासका लागि निर्वाचन अपरिहार्य भएको धारणा राख्नुभयो।
“देशको परिस्थिति गम्भीर अवस्थामा रहेकाले निर्वाचनको घोषणा गरिएको हो। यो गम्भीरतालाई ध्यानमा राख्दै निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको साझा दायित्व हो,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।