शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलसँग सघन संवाद गर्न जरूरीः नेता पुन

197 Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा नेता वर्षमान पुनले सरकारद्वारा गठित संवाद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिनुभयो।

उहाँले नेकपा स्वयंलाई वर्तमान अवस्थामा निर्वाचनमा सहभागी हुन कुनै समस्या नभए पनि केही राजनीतिक दलहरूले शान्ति–सुरक्षासम्बन्धी गुनासो व्यक्त गरेको उल्लेख गर्दै ती विषयहरू समयमै सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको बताउनुभयो।

नेता पुनले विगतमा मुलुकमा राजनीतिक संकट उत्पन्न हुँदा दलहरूलाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै पार्टी संयोजक पुष्पकमल दाहाललाई पुनः सबै राजनीतिक शक्तिहरूलाई संवादमार्फत एक ठाउँमा ल्याउन पहल गरिदिन सरकारको तर्फबाट आग्रह गरिएको जानकारी दिनुभयो।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेकपाले सबै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको पनि उहाँले स्पष्ट पार्नुभयो।