चितवन। उद्योग वाणिज्य संघ चितवनको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशनका लागि संस्थापन पक्षबाट चिरञ्जीवी सुवेदी नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ।
मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सुवेदी प्यानलले अध्यक्षसहित पदाधिकारीहरूको उम्मेदवारी सार्वजनिक गरेको हो। उक्त प्यानलबाट अध्यक्षमा चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली तथा उपाध्यक्षहरूमा अशोक अधिकारी, नारायण प्रधान र राजन पिया उम्मेदवार रहेका छन्।
अध्यक्षका उम्मेदवार सुवेदी हाल संघका वरिष्ठ उपाध्यक्ष हुन्। आगामी पुस १९ गते उद्घाटन हुने संघको ५९औँ साधारणसभा तथा अधिवेशनअन्तर्गत पुस २१ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने वरिष्ठ उपाध्यक्षका उम्मेदवार राजेन्द्र ओलीले जानकारी दिए।
अध्यक्ष पदका उम्मेदवार सुवेदीले संघको संस्थागत विकासका लागि साधारण सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव रहेको उल्लेख गर्दै अध्यक्षमा उम्मेदवारी दिएको बताए।
सुवेदी २०६० सालदेखि कार्यसमिति सदस्यका रूपमा संघमा आबद्ध रहँदै तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै आएका छन्।
संघका समस्या र चुनौतीलाई नजिकबाट बुझेको दाबी गर्दै सुवेदीले ती समस्या समाधानका लागि निरन्तर लागिरहेको बताए।
उद्योग वाणिज्य संघ चितवनको यस अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन हुनेछ। जसअन्तर्गत अध्यक्षसहित ५ जना पदाधिकारी र २३ जना सदस्य निर्वाचित हुनेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया