काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव शेरधन राई ले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने दाबी गर्नुभएको छ। सरकारलाई ‘असंवैधानिक’ को संज्ञा दिँदै उहाँले सरकारले घोषणा गरेको चुनाव सम्भव नरहेको बताउनुभयो।
मंगलबार नेकपा एमाले कोशी प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलन मा बोल्दै नेता राईले वर्तमान सरकार निर्वाचन गराउन नभई लोकतन्त्र र संविधानमाथि प्रहार गर्न बनेको आरोप लगाउनुभयो।
उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा एक लाखभन्दा बढी गोलीगठ्ठा, एक हजार २०० भन्दा बढी हातहतियार र पाँच हजार ५०० भन्दा बढी कैदीहरू बाहिर छन्। सुरक्षाकर्मीका पोशाकसमेत दुरुपयोग भइरहेका छन्। यस्तो असुरक्षित वातावरणमा निष्पक्ष निर्वाचन सम्भव छैन।”
राईले प्रमुख राजनीतिक दलका नेताहरूमाथि सांघातिक आक्रमण, घर तथा पार्टी कार्यालयहरूमा आगजनी भइरहेको उल्लेख गर्दै सरकारले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाउनुभयो। उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोध साध्ने प्रयास भइरहेको पनि दाबी गर्नुभयो।
“नेताहरूलाई यातना दिने, भिसा रोक्ने जस्ता गतिविधि भइरहेका छन्,” उहाँले भन्नुभयो, “यो सरकारले सामाजिक सद्भाव भड्काएर देशलाई प्रतिगमनतर्फ धकेल्न खोजिरहेको छ।”
नेता राईले एमालेले समयमै देशव्यापी रूपमा जनतालाई परिचालन नगरेको भए देश ठूलो दुर्घटनातर्फ जान सक्ने अवस्था सिर्जना हुने दाबी गर्नुभयो।
एमाले कोशी प्रदेश कमिटीले सम्पूर्ण पार्टी पंक्तिलाई संघर्ष र आन्दोलनमा उत्रन आह्वान गरिसकेको जानकारी दिँदै उहाँले वर्तमान सरकारका कदमहरूलाई डटेर सामना गरिने चेतावनी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया