प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच पुस १५ भित्र उच्चस्तरीय भेटवार्ता हुने

199 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराउनुभएको हो। सरकारका अनुसार सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा गठन गरिएको वार्ता समितिमार्फत निरन्तर संवाद भइरहेको छ।

सरकारले प्रसाईंलाई पठाएको पत्रमार्फत तत्काल सम्बोधन गर्नुपर्ने पाँच प्रमुख विषयहरू पनि जानकारी गराएको छ। ती विषयहरूमा चैत १५ गते तीनकुनेमा भएको घटनासँग सम्बन्धित प्रसाईं लगायत अभियन्तामाथि लगाइएका फौजदारी मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने, भूमिहीन सुकुमबासी तथा कवाड व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था नभएसम्म हालको स्थानबाट नहटाउने सुनिश्चितता, बैंक, लघुवित्त, सहकारी लगायत वित्तीय संस्थासँग सम्बन्धित समस्या समाधान रहेका छन्।

त्यसैगरी किरात, बौद्धसहितको हिन्दु अधिराज्य, प्रदेश खारेजी तथा राजसंस्थाको विषयमा जनमत संग्रहमार्फत निर्णय लिने, साथै चिकित्सा शिक्षा अन्तर्गत नर्सिङ, एमबीबीएस र एमडी अध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्ने मागलाई पनि सरकारले प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।