काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ।
काठमाडौं–४ क्षेत्रका नेता–कार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने स्पष्ट गर्दै पार्टी नेतृत्व सम्हाल्ने दाबी पनि गर्नुभयो। “म १५औं महाधिवेशनको सभापतिको उम्मेदवार हुँ। म पार्टीको सभापति बन्न चाहन्छु र बन्छु,” उहाँले भन्नुभयो।
महाधिवेशन केवल नेतृत्व परिवर्तनको विषय मात्र नभई पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने अवसर भएको उल्लेख गर्दै उहाँले क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम ढिलाइ भएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। महाधिवेशन समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ।
महामन्त्री थापाले आफ्नो जिम्मेवारीका हैसियतले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै गर्नुपर्ने विषयमा निरन्तर स्पष्ट रूपमा कुरा राख्दै आएको बताउनुभयो। “महाधिवेशन समयमै गर्न सकिन्थ्यो। तर अहिले कताकता ढिलाइको संकेत देखिन थालेको छ। यो विषयमा पार्टी नेतृत्वलाई हामी खुलेर भनिरहेका छौँ,” उहाँले भन्नुभयो।
उहाँले नेतृत्वलाई आवश्यक परे जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको स्पष्ट गर्दै नियमित वा विशेष जुनसुकै प्रकारको भए पनि महाधिवेशन अनिवार्य रूपमा हुनुपर्नेमा जोड दिनुभयो। महाधिवेशन नगरी कांग्रेस निर्वाचनमा जान नसक्ने उहाँको ठोकुवा थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया