विपद् पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाइने : गृहमन्त्री अर्याल

197 Shares

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई थप मजबुत, संस्थागत र प्रभावकारी बनाउने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सोमबार काठमाडौंमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापन प्रणालीबाट बाहिर निस्केर जोखिमको पहिचान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको प्रक्रिया अघि बढाइसकेको बताउनुभयो।

उहाँले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान तथा प्रभावमा आधारित पूर्वसूचना प्रणाली अनिवार्य रहेको उल्लेख गर्नुभयो। साथै, पूर्वसूचना जारी भएपछि तुरुन्तै सक्रिय हुने स्पष्ट कार्ययोजना र पूर्वमै व्यवस्थापन गरिएको स्रोत–साधन अपरिहार्य रहेको उहाँको भनाइ थियो।

गृहमन्त्री अर्यालका अनुसार नेपाल बहुप्रकोपिय जोखिमको दृष्टिले अत्यन्त संवेदनशील मुलुक हो। बाढी, पहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर, अत्यधिक गर्मी, शीतलहर तथा महामारीजस्ता जलवायु तथा मौसमजन्य प्रकोपहरूले नेपालमा हुने अधिकांश विपद् ओगट्ने गरेका छन्। जलवायु परिवर्तनका कारण यस्ता जोखिमहरू अझ अनिश्चित, तीव्र र बारम्बार देखिन थालेको उहाँले बताउनुभयो।

विपद्जन्य घटनाका कारण मुलुकले प्रत्येक वर्ष मानवीय तथा भौतिक क्षतिसहित ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको गृहमन्त्री अर्यालको भनाइ छ।