यी हुन् कांग्रेसले लुम्बिनीबाट सिफारिस गरेका उम्मेदवारका आकांक्षी

216 Shares

कांग्रेस लुम्बिनीले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशअन्तर्गतका विभिन्न जिल्लाबाट उम्मेदवारका नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।

लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जिल्ला कार्यसमितिहरूबाट प्राप्त सिफारिसका आधारमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नाम केन्द्रमा पठाइएको जानकारी दिनुभयो।

दाङ

दाङ–१ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई पहिलो प्राथमिकतामा राख्दै जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे, प्रदीपराज शर्मा, प्रदीप थापा र प्रतिक्षा चौधरी सिफारिस भएका छन्। समानुपातिकतर्फ कृष्णकिशोर घिमिरे, सुशीला चौधरीसहित आठ जनाको नाम सिफारिस गरिएको छ।

दाङ–२ बाट प्रत्यक्षतर्फ खगराज पाण्डे, भोजराज पाण्डे, किरणकिशोर घिमिरे, अनिता देवकोटा लगायत १० जनाको नाम सिफारिसमा परेको छ भने समानुपातिकतर्फ सात जनाको नाम पठाइएको छ।

दाङ–३ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य दिपक गिरीलाई पहिलो नम्बरमा राख्दै शंकरप्रसाद डाँगीसहित पाँच जनाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस भएको छ।

रूपन्देही

रूपन्देही–१ देखि ५ सम्म प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरी दर्जनौं नेताहरू सिफारिसमा परेका छन्। रूपन्देही–३ बाट केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पहिलो प्राथमिकतामा राखिएको छ भने रूपन्देही–५ बाट केन्द्रीय सदस्य भरतकुमार शाह प्रत्यक्षतर्फ एकल सिफारिसमा परेका छन्।

बाँके

बाँके–१ बाट जिल्ला सभापति नारायणप्रसाद गौडेलसहित १० जना प्रत्यक्षतर्फ सिफारिस भएका छन्। बाँके–२ बाट पूर्वमन्त्री गजेन्द्रबहादुर हमालसहित छ जना तथा बाँके–३ बाट सहमहामन्त्री किशोरसिंह राठौर, प्रदेश सभापति अमरसिंह पुनलगायत ११ जनाको नाम सिफारिस गरिएको छ।

पाल्पा, रोल्पा, प्युठान

पाल्पा–१ बाट सन्दीप राना प्रत्यक्षतर्फ एकल सिफारिसमा परेका छन् भने पाल्पा–२ बाट पाँच जनाको नाम सिफारिस गरिएको छ। रोल्पाबाट महामन्त्री गगनकुमार थापालाई पहिलो नम्बरमा राख्दै पाँच जनाको नाम केन्द्रमा पठाइएको छ। प्युठानबाट प्रा.डा. गोविन्दराज पोख्रेलसहित तीन जनाको नाम सिफारिस गरिएको छ।

कपिलवस्तु

कपिलवस्तु–१ बाट महामन्त्री थापासहित छ जनाको नाम सिफारिस भएको छ। कपिलवस्तु–२ बाट पूर्वमन्त्री सुरेन्द्रराज आचार्यसहित चार जनाको नाम सिफारिस गरिएको छ भने कपिलवस्तु–३ बाट पूर्व सहायकमन्त्री विरेन्द्रकुमार कनोडिया एकल सिफारिसमा परेका छन्।

नवलपरासी पश्चिम, अर्घाखाँची, बर्दिया

नवलपरासी पश्चिम–१ र २ बाट प्रत्यक्षतर्फ विभिन्न नेताहरूको नाम सिफारिस गरिएको छ। अर्घाखाँचीबाट आठ जना प्रत्यक्षतर्फ सिफारिसमा परेका छन्। बर्दिया–१ बाट पाँच जना तथा बर्दिया–२ बाट सहमहामन्त्री किशोरसिंह राठौर र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरिएको छ।

प्रदेश समितिले जिल्लाबाट आएका सिफारिसलाई समेटेर केन्द्रमा पठाइएको जनाएको छ। अन्तिम उम्मेदवार चयन भने केन्द्रीय कार्यसमितिले गर्नेछ।