भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा

180 Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गते भएको घटनाको नैतिक र राजनीतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने स्पष्ट गर्नुभएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले भदौ २३ को घटना नेपालको इतिहासकै दुःखद् र अकल्पनीय क्षण भएको उल्लेख गर्नुभयो। उक्त घटनामा धेरै युवाहरूको ज्यान गएको भन्दै उहाँले त्यस दिनलाई नेपालको इतिहासको ‘कालो दिन’का रूपमा व्याख्या गर्नुभयो।

उहाँले सडकमा जनआक्रोश देखिनु स्वाभाविक भएको बताउँदै त्यसको मूल जिम्मेवारी सरकार र तत्कालीन प्रधानमन्त्रीले लिनुपर्ने धारणा राख्नुभयो। सार्वजनिक पदमा बसेकाले नैतिकताको उच्च मापदण्ड अपनाउनुपर्ने भन्दै राजनीतिक नैतिकता अझ महत्वपूर्ण विषय भएको उहाँको जिकिर थियो।

महामन्त्री थापाले भन्नुभयो, “भदौ २३ गते भएको घटना अत्यन्तै पीडादायी थियो। त्यस्तो घटना नघटेको भए कति राम्रो हुन्थ्यो भन्ने आज पनि लाग्छ। त्यसपछि सडकमा आक्रोश देखिनु स्वाभाविक हो। तर त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ।”

उहाँले घटनापछि तत्काल गृहमन्त्रीलाई राजीनामा दिन लगाइएको स्मरण गराउँदै सरकार स्वयंले उक्त घटनाको जिम्मा लिनुपर्ने बताउनुभयो। “जिम्मेवारी लिँदा कोही सानो हुँदैन। ठूलो पदमा बसेको व्यक्तिले अझ बढी जिम्मेवारी लिनुपर्छ,” उहाँले भन्नुभयो।

घटनाको छानबिन प्रक्रिया अघि बढ्न सक्ने भए पनि त्यसको नैतिक जिम्मेवारी सरकारमा रहेका व्यक्तिहरूले लिनुपर्ने महामन्त्री थापाको भनाइ थियो। “म पदमा भएको भए म स्वयं जिम्मेवारी लिन्थेँ। अहिले जो जिम्मेवार छन्, प्रधानमन्त्रीले नै लिनुपर्छ,” उहाँले स्पष्ट गर्नुभयो।

महामन्त्री थापाले भदौ २३ र २४ गते जेन–जी समूहले भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गरेको सन्दर्भ पनि उल्लेख गर्नुभयो।