काठमाडौं । मधेस प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित हुनुभएको छ।
आइतबार बसेको प्रदेशसभा बैठकमा सात दलीय गठबन्धनका तर्फबाट सभामुखका उम्मेदवार रहेका यादवको पक्षमा ७२ जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् भने २४ जनाले विपक्षमा मत दिएका छन्। बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए।
सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत ईशरले बहुमत सदस्यले वीरेन्द्र प्रसाद सिंहको प्रस्तावको समर्थन गरेकाले रामअशिष यादव सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयो।
पहिलो प्रस्तावमै बहुमत सदस्यले समर्थन जनाएकाले दोस्रो उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्न आवश्यक नरहेको जानकारी पनि सदनलाई गराइएको थियो।
सभामुख पदका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य त्रिलोकी प्रसाद यादवले पनि उम्मेदवारी दिनुभएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया