डा.बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै

201 Shares

काठमाडौं ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणका लागि प्रस्थान गर्दैछन्। जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो।

भारत भ्रमणका क्रममा डा. भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

उनका स्वकीय सचिव रेखी गुरुङद्वारा जारी गरिएको प्रेस नोटअनुसार डा. भट्टराईले आईआईटी बम्बैमा आयोजना हुने टेक फेस्ट तथा नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।

डा. भट्टराई पुस ९ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ। उनको यो भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास स्वकीय सचिवालयले व्यक्त गरेको छ।