निर्वाचन नभए संसद पुनस्थापना गर्नुपर्छः नेता सिंह

235 Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी फागुन २१ गते निर्वाचन नभए संसद् पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले संविधान ट्र्याकबाट बाहिर गएको भन्दै त्यसलाई सही दिशामा ल्याउन निर्वाचन नै उत्तम माध्यम भए पनि निर्वाचन हुन नसके संसद् पुनःस्थापनाको विकल्प खुला राख्नुपर्नेमा जोड दिनुभयो। वर्तमान सरकारले तोकिएको समयमा निर्वाचन गराउने दाबी गरे पनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नदेखिएको उहाँको भनाइ छ।

उहाँले पार्टीको आगामी महाधिवेशनमा पनि केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा तय भएकाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन हुनेमा कुनै शंका गर्न नपर्ने उहाँले बताउनुभयो। तर महाधिवेशन पार्टीको विधान र विधिअनुसार नै हुनुपर्नेमा उहाँको जोड छ। पार्टीको विधान मिचेर महाधिवेशन हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो।

क्रियाशील सदस्यताको विषय टुंगोमा पुगेपछि मात्र महाधिवेशन हुने उल्लेख गर्दै नेता सिंहले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, आगामी निर्वाचनमा पार्टीले खटाएका उम्मेदवारलाई जिताउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्न निर्देशन दिनुभयो।