‘अरू पार्टीको आलोचना नगराैं, आफू नै सच्चिएर अघि बढाैं’: सह-संयोजक नेपाल

207 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले वर्तमान परिस्थितिमा आफूहरूले गरेका कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

शनिबार भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सह–संयोजक नेपालले अहिले अरू दलहरूको आलोचना गर्नेभन्दा पनि आफू नै सच्चिएर जनताको बीचमा जानुपर्ने समय आएको उल्लेख गर्नुभयो। उहाँले कार्यकर्ताहरूलाई एकताको सन्देश लिएर गाउँ–गाउँमा जान आग्रह गर्नुभयो।

उहाँले पार्टीले आफ्ना विचार जनतासम्म पुर्‍याउँदै नयाँ नेपाल निर्माणको अभियान अघि बढाइरहेको बताउनुभयो। सह–संयोजक नेपालका अनुसार हाल पार्टीले ७७ वटै जिल्लासहित स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

पार्टीभित्र मौलाइरहेको खतरनाक प्रवृत्तिको आलोचना गर्दै उहाँले नेता बन्ने तर जनताकाबीच नजाने प्रवृत्तिलाई कुनै हालतमा स्वीकार नगर्ने चेतावनी दिनुभयो।