काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा केहीबेरमा सुरु हुँदैछ। सभा भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको हो।
सभाका लागि मञ्च व्यवस्थापनको काम सम्पन्न भइसकेको छ। अहिले काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट नेता–कार्यकर्ताहरू विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनी मार्गतर्फ आउन थालेका छन्। मुख्य मञ्च पद्मोदय मोड नजिक निर्माण गरिएको छ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन, धादिङ, मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरू सुन्धाराबाट र्याली सुरु गर्दैछन्। यस्तै रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाका नेता–कार्यकर्ताहरूको र्याली भृकुटीमण्डपतर्फ आइरहेको छ।
त्यसैगरी बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ का नेता–कार्यकर्ताहरूको र्याली डिल्लीबजार (चारखाल) बाट सुरु हुनेछ। काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका नेता–कार्यकर्ताहरूको र्याली बबरमहलबाट सुरु हुने कार्यक्रम रहेको छ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया