काठमाडौँ । १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।
दुबईमा आज एसिया कपअन्तर्गत समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो। नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। अफगानिस्तानका उजैरुल्लाह नियाजाईले ६१ रनको शानदार इनिङ्स खेले। ओस्मान सादातले २८ रन जोडे भने कप्तान महबूब खान ११ रनमा अविजित रहे।
नेपालका लागि अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्माले १ विकेट हात पारे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४६.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमै समेटिएको थियो। नेपालका दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए। चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे। अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।
अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २–२ विकेट लिए। यस हारसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै एसिया कपबाट बाहिरिएको छ। यसअघि नेपाल श्रीलङ्का र बङ्गलादेशसँग पराजित भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया