राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायोः रेशमलाल चौधरी

329 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा, नेपाल)का संरक्षक रेशमलाल चौधरीले देशका सबै आन्दोलनहरूलाई सरकारले राजनीतिक रूपमा हेरेपनि टिकापुर आन्दोलनलाई भने अपराधको रूप दिएको आरोप लगाएको छ । बुधवार निर्वाचन आयोगले नाउपा,नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । राज्यले हालै भएको आन्दोलनलाई पनि राज्यले राजनीतिक बनाएको बताएका छन् । जेनजी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी दुवै मारिएको उल्लेख गर्दै उनले त्यस आन्दोलनलाई पनि राजनीतिक रूपमा सम्बोधन गरिएको बताएका छन् । तर टिकापुर विद्रोहलाई राज्यले अपराधको रूपमा लिएको उनको भनाई छ । उनले यो नै निरकुंशताको प्रतिक भएको बताएका छन् ।  नेपालमा रहेको विभेद, अन्याय र राज्यको निरकुंश व्यवहारविरुद्ध आफूहरु लाग्ने उनले बताए ।  टिकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा मान्यता दिन र सो आन्दोलनमा संलग्न सबै कैदी र फरार अभियुक्तहरूको मुद्दा फिर्ता गर्न माग गरेका छन् । आफ्नो पार्टीले देशभरका सबै उत्पीडित वर्गको आवाज बोक्ने बताए ।आगामी निर्वाचनमा नाउपा, नेपालले कमैया, दलित, मुक्तकमलरी, सुनार, जनजाती र मुस्लिमका युवाहरु र एकल महिलाहरुलाई संसदमा पु¥याउने बताए । आफ्नो पार्टीको सिद्धान्त समुदायमा आधारित समाजवाद हुने उनको भनाई छ ।