लाइसेन्स छपाइ प्रक्रियालाई पारदर्शी र त्रुटिरहित बनाउन सुरक्षण मुद्रण केन्द्रलाई मन्त्री खरेलको निर्देशन

311 Shares

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम पारदर्शी र त्रुटिरहति बनाउन सुरक्ष मुद्रण केन्द्रलाई निर्देशन दिएका छन् । शुक्रवार सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ कार्यको शुभारम्भ गर्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् । उनले समय समयमा सुरक्षण मुद्रण केन्द्र भ्रष्टाचारसँग जोडिने गरेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध शतर्क रहन आग्रह गरे । सुरक्षण मुद्रण केन्द्रलाई भ्रष्टाचारको विवादबाट पूर्णरुपमा मुक्त नभएको उल्लेख गर्दै उनले खरिद गरिएका सामग्रीका बारेमा प्रश्न उठ्ने गरेको बताएका छन् । लाइसेन्स वितरणमा हुने ढिलासुस्ती र त्रुटिलाई न्युनिकरण गर्नेगरी काम गर्न उनको निर्देशन छ । गत भदौ अन्तिम साताको जेन–जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको लाइसेन्स छाप्ने मसिनसहितका उपकरण आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले केन्द्रबाट लाइसेन्स छाप्न लागेको हो । विभागसँगको समन्वयमा केन्द्रले पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छाप्नेछ ।