आज धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

255 Shares

काठमाडौं । आज धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदैछ ।

आयुर्वेदमा स्वास्थ्य र औषधिका देवता मानिएका धन्वन्तरीको जन्मजयन्तीको अवसरमा वैध, कविराजले सम्झना गरी विभिन्न कार्यक्रम गरी मनाउने चलन छ ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा.श्यामबाबु यादवका अनुसार धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापकको रूपमा लिने गरिन्छ । यसअवसरमा आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाले देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने गरेका छन् ।

धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा २०५६ सालदेखि मनाउन थालिएको हो । यसवर्ष ‘आरोग्यताको आधार, योग, ध्यान र आयुर्वेद उपचार’ भन्ने नारा तय गरिएको छ । नेपाल आयुर्वेद चिकित्सक सङ्घले देशभरिका आयुर्वेद स्वास्थ्य संस्थालाई दिवस मनाउन आह्वान समेत गरेको छ ।

काठमाण्डौको नरदेवीमा रहेको आयुर्वेद अस्पतालसहित सबै प्रदेश र जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा विस्तार भइरहेको छ ।

एक केन्द्रीय अस्पताल, तीनवटा प्रादेशिक अस्पताल, ७७ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पालिकास्तरीय आयुर्वेद शाखाहरू एवम् नागरिक आरोग्य सेवा केन्द्रमार्फत निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क आयुर्वेद औषधि वितरणसहित विशिष्टिकृत सेवाहरूको पहुँच व्यापक बनाउने जस्ता सकारात्मक प्रयास समेत भइरहेका छन् ।