काठमाण्डौ । कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुचारु गरेको छ ।
भदौ २४ गतेको जेन जी आन्दोलनले नगरपालिकाको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएपछि नयाँ भवनबाट सेवा सञ्चनालनमा ल्याएको हो ।
कीर्तिपुर नगरपालिका नगरप्रमुख कृष्णमान डंगोल मंगलवारदेखि नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । उनले नगरपालिकाले कोभिड—१९ को समयमा आइसोलेशन बनाएको भवनबाट अस्थायी रुपमा सेवा सञ्चालन गर्न थालेको बताए । बुधवारदेखि सम्पूर्ण सेवा यही भवनबाट आउने उनको भनाई छ ।
उनले आपतकालिन सेवा भने नगरपालिकाले भदौ २७ गतेदेखि नै सञ्चालनमा ल्याएको पनि जानकारी दिए । यसअघि पर्यटन सूचना केन्द्रवाट सेवा दिइरहेको भएपनि काम गर्न अफ्ठ्यारो भएको उनले बताए ।
नगरप्रमुख डंगोलले नगरपालिकाको पुरानो भवन आगलागीले पूर्णरुपमा जिर्ण भएको र त्यहाँबाट सेवा दिन नसक्ने अवस्था रहेको जानकारी दिए । भवनको पुनःनिर्माण गर्नको लागि बजेटको व्यवस्था गरी एक वर्षभित्र पुरानो भवन तयार गर्ने पनि उनले जानकारी दिए ।
पुरानो भवन तयार भएपछि त्यहाँबाट नगरपालिकाका सेवाहरु सञ्चालन गर्ने उनको भनाई छ ।
उनले नगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको जानकारी दिँदै उक्त कार्यमा सहभागी हुन पनि सबै नगरवासीलाई आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया