कारागारबाट भागेका १६६ कैदीबन्दी मकवानपुरबाट पक्राउ

302 Shares

काठमाडौं । देशका विभिन्न कारागार तथा बाल सुधारगृहबाट भागेका कैदीबन्दीहरु मध्ये मकवानपुरबाट १६६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।  

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरूलाई मकवानपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, भिमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दी मध्ये ७८ जनालाई पक्राउ गरिएको छ भने ३६२ जना कैदीबन्दी अझै फरार रहेका छन् । 

भिमफेदी कारागारमा एक नाबालकसहित कुल १ हजार ६६ जना कैदीबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जनाकारी दिए ।

उनका अनुसार मकवानपुरस्थित बाल सुधार गृहबाट भागेका ७२ जना मध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ भने ३१ जनाको खोजी कार्य जारी छ । उक्त बाल सुधार गृहमा कुल ९४ जना रहेका थिए ।

काठमाडौँ उपत्यकाका विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरुलाई पनि मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ । नख्खु कारागारबाट भागेका मध्ये ७ जना र जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको छ ।

कास्की कारागारबाट भागेका १ जना र तनहुँ जिल्ला कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको सुरक्षा निकायले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएका ३५ जना कैदीबन्दी कुन कारागारबाट भागेका हुन् भन्ने खुल्न बाँकी रहेको प्रवक्ता अर्यालले बताएका छन् ।  

उनीहरूको पहिचान गर्ने कार्य भइरहेको र सुरक्षा निकायहरूले फरार रहेका अन्य कैदीबन्दीहरुको पनि खोजी कार्यलाई तीव्रता दिएको उनको भनाई छ ।