अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना

242 Shares

काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पार्नुभएको छ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिती नरहेको बताउनुभएको हो ।

ढुंगानाका अनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिपय बैंकहरुमा समस्या भएका कारण अरुमा मर्ज गरिएको धेरै भएको छैन । मर्ज गर्ने स्थिती आएर मर्ज गर्नुपर्यो ।

कतिवटा बैंकहरु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा राष्ट्र बैंकले अध्ययनसमेत गरेको थियो । २ वर्षअघि एउटा अध्ययन गरेर बैंकहरुको संख्या निर्धारण गर्ने अहिले त्यसैलाई मिचेर नयाँ लाइसेन्स दिने कुरा सम्भव नहुने ढुंगानाले बताउनु भयो ।

ढुंगानाका अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तर प्रयासरत छ । बैंक तथा वित्तीय संस्थाहरुको वर्तमान स्थिती र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको छ ।

बैंकिङ प्रणालीमा भएको विस्तार र आधुनिकीकरण, वित्तीय पहुँचमा भएको विस्तार, भुक्तानी प्रणालीमा भएको आधुनिकीकरण, वित्तीय सेवाको विविधिकरण र गुणस्तरमा सुधार र स्वतन्त्र पुँजी वृद्धिको प्रभावकारी कार्यान्वयनमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्दै आउनु उपलव्धिका विषयहरु रहेको उहाँले बताउनु भयो । 

कोभिड र त्यसपश्चात विश्व अर्थतन्त्रमा देखा परेका विभिन्न असरहरुका कारण केही वर्षयता अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताउँदै अर्थतन्त्रका सूचकहरु गत वर्ष संकुचनमा रहेपनि अहिले भने विस्तारै सुधारोन्मुख रहेको डेपुटी गभर्नर ढुंगानाले बताउनु भयो ।