एकभन्दा बढी शाखा खोलेका सहकारीलाई शाखा बन्द गर्न सहकारी विभागको निर्देशन

227 Shares

काठमाडौं । सहकारी विभागले एकभन्दा बढी शाखा कार्यालय खोलेर कारोबार गरिरहेका सहकारी संस्थालाई शाखा बन्द गर्न निर्देशन दिएको छ। विभागले राष्ट्रिय सहकारी महासंघ तथा विषयगत केन्द्रीय संघलाई पत्र लेख्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयनका लागि यस्तो निर्देशन दिएको हो।

सहकारी विभागका शाखा अधिकृत सरोज भुसालका अनुसार विभागले छ बुँदे निर्देशन जारी गरेको छ, जसमा मुख्य प्राथमिकताका साथ शाखा बन्द गर्ने विषय समेटिएको छ। जारी परिपत्रको पहिलो बुँदामै एकभन्दा बढी शाखा खोलेर सञ्चालनमा रहेका सहकारी संस्थाले हिसाब–राफसाफ गरी शाखा बन्द गर्ने–गराउने व्यवस्था उल्लेख गरिएको छ।

यसैगरी नयाँ निर्देशनअनुसार सहकारी संस्थाले अब कुनै कम्पनी वा संगठित संस्थालाई सदस्य बनाउन नपाउने भएका छन्। प्राकृतिक व्यक्ति मात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ।

त्यस्तै, एकै व्यक्तिलाई एक वा एकभन्दा बढी तमसुकमार्फत दिइने कुल ऋण लगानी संस्थाको कुल सेयर पूँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने व्यवस्था गर्न भनिएको छ। साथै बचत तथा ऋण सहकारी संस्थाले एकै उद्देश्य वा क्षेत्रमा कुल ऋण लगानीको २५ प्रतिशतभन्दा बढी गर्न नपाउने र कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशतसम्म मात्र कायम हुने गरी लगानी गर्न निर्देशन दिइएको छ।

विभागले यी व्यवस्थाहरू कडाइका साथ लागू गरी सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने उद्देश्य राखेको जनाएको छ।