कञ्चनपुर । कञ्चनपुरकाे भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा भएकाे छ । तर आजसम्म पनि अपराधी पत्ता लागेकाे छैन ।
२०७५ साल साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी उनको शव साउन ११ गते नजिकैको उखुबारीमा फेला परेको थियो ।
शव परीक्षणबाट बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अहिलेसम्म पनि घटनामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन । घटनामा अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएकाे छ । सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीका छुट्टाछुट्टै समिति गठन भएका थिए ।
अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डीएनए परीक्षण गरिएको छ भने ६ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ । सीआईबीबाट १० वटा टोलीले अनुसन्धान गरिसकेको छ । याे घटनाले प्रहरीलाई चुनाैती मात्र दिएकाे छैन राजनीतिक संरक्षण पनि पाएकाे प्रष्ट छ तर पीडितले कहिले न्याय पाउने भन्ने प्रश्न अनुत्तरित छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया