राजनीतिक विश्लेषक प्रकाश रायमाझीले महिला ट्राफिक प्रहरीमाथि भएको आक्रमणलाई अराजकता र हिंसात्मक प्रवृत्ति भएको संज्ञा दिनुभएको छ । यो घटलाई उहाले नेपाली समाजमा बढ्दै गएको असहिष्णुता, अराजकता र हिंसात्मक प्रवृत्तिको पछिल्लो उदाहरण बनेको बताउनु भएको छ । रायमाझीले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा घाम–पानी नभनी खटिने प्रहरीमाथि भएको आक्रमण निन्दनीय रहेको उल्लेख गर्नुभएको छ । घटनामा संलग्न व्यक्तिलाई दण्डित गर्ने विषयसँगै उनको मानसिक अवस्था, सामाजिक परिवेश र तनावका कारणबारे पनि राज्यले गम्भीर अध्ययन गर्नुपर्ने उहाको भनाई रहेको छ ।
रायमाझीका अनुसार पछिल्लो समय युवामा बढ्दो आक्रोश, छिटो रिसाउने प्रवृत्ति, उच्छृंखल व्यवहार, मानसिक तनाव, डिप्रेसन, बेरोजगारी तथा सामाजिक फ्रस्ट्रेसनले हिंसात्मक व्यवहारलाई बढावा दिन सक्ने भएकाले त्यसको कारण पहिचान गर्न आवश्यक छ । कडा दण्डको आवाज उठाइरहँदा नागरिकको स्वास्थ्य अवस्था, तनाव, डिप्रेसन र बेरोजगारीबाट उत्पन्न फ्रस्ट्रेसनबारे पनि सोच्नुपर्छ,’ रायमाझीले भनेका छन् ।
उनले युवाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण र आवश्यक परे काउन्सिलिङको व्यवस्था गर्ने जिम्मेवारी पनि राज्यकै भएको बताएका छन् । बर्दी लगाउने प्रहरी हुन् वा सर्वसाधारण, सबैका आ–आफ्ना मानसिक पीडा र तनाव हुनसक्ने भन्दै उनले त्यसको उपचार र व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । रायमाझीका अनुसार हिंसा र अपराध बढ्नुमा मानसिक तनाव, डिप्रेसन, फ्रस्ट्रेसन लगायत विभिन्न सामाजिक तथा मनोवैज्ञानिक कारण हुन सक्छन् ।
त्यसैले समाजको मनोविज्ञान नबुझी केवल कारबाही र दण्डबाट मात्रै अनुशासन तथा सामाजिक संस्कारको विकास गर्न नसकिने उहाको तर्क रहेकोछ । अपराधको जड दण्ड–सजायबाट मात्रै निराकरण हुन सक्दैन । राज्यले यस विषयलाई बुझ्न ढिला गर्नु नहुने उहाको तर्क रहेको छ । साथै रायमाझीले नागरिकको मानसिक स्वास्थ्य, सामाजिक तनाव र अपराधको मनोवैज्ञानिक कारण पहिचान गर्दै राज्यले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया