पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने एमालेको निर्णय

305 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपतिसमेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ।

सो दलको सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सम्मान रहेको बताए। 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो। केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आगामी अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै गरेको छ।