काठमाडौं । निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले कार्यक्रमअनुसार असोज २१ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने बताइन् ।
सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ भने असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । असोज २२ गते दिउँसो ३ देखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी ७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
यस्तै, असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । असोज २४ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने अर्यालले बताइन् ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले भने उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया