नवराज सुवेदीको प्रतिक्रियाः 'अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारेँ'

301 Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिनुभएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनित गर्नुभएको थियो । सोही निर्णयका विरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीसहित आइतबार उहाँ निर्वाचन आयोग पुग्नुभएको हो । 

आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले अध्यक्ष लिङ्देनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाउनु भयो । उहाँले पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहोर्याउँदै उहाँले थप प्रतिक्रियापछि दिने बताउनु भयो । 

उहाँले राजसंस्था पुनःस्थापनाको आफूहरुको आन्दोलन जारी रहेको पनि दाबी गर्नुभयो। पार्टीभित्र कुनै गुट नहुन् भन्ने पक्षमा आफू रहेको पनि उहाँको भनाइ छ।