काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको बताउनु भयो । आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गर्नुभयो । आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेको बताउँदै उहाँले आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशील समय राजनीति नै रहेको बताउनु भयो ।
सांसद जबराले आफूले विभिन्न कालखण्डमा मुलुकको विभिन्न मन्त्रालयको नेतृत्व लिएर जनताको सेवा गर्न मौका पाएको बताउनु भयो । आफू शिक्षामन्त्री हुँदा (वि.सं.२०३५ सालमा ) काठमाडौं उपत्यकाको प्राचिन मन्दिर एवं पुरातात्विक ठाउँहरुको संरक्षणका लागि युनेस्काेको विश्व सम्पदाको सूचिमा सूचिकृत गराउन मुल भुमिका निर्वाह गर्ने मौका पाएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया