काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले १३ वटा एजेण्डासहित केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु गरेको छ ।
सोमबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठकका १३ वटा एजेण्डाहरु छन् । बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले १ सय दिने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिनुभएका नेताहरुले धाराणा राख्ने क्रम जारी रहेको बताउनु भयो । साथै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन पनि प्रश्तुत गर्नुभएको बताउनु भयो ।
उहाँका अनुसार बैठकमा अनुशासन समितिले धेरै दिनको बैठक गरेर विभिन्न जिल्लाबाट आएका गुनासो, निवेदनउपर अनुशासन तोडेका विषयमा छलफल हुनेछ । उहाँले क्रियाशील सदस्यता नवीकरणको बारेमा छलफल हुने बताउनु भयो । भ्रातृ संगठनहरुले समयमै अधिवेशन गर्न नसकेको विषय, विदेशस्थित जनसम्पर्क मञ्च लगायतका बारेमा पनि छलफल हुने प्रवक्ता महतले बताउनु भयो ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषयमा पनि छलफल हुनेछ । उहाँकाअनुसार कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रिय कार्यसमितिबाट अनुमोदन गरिने विषय पनि रहेको छ । जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय पनि छलफलको एजेण्डा बनेको छ । साथै संसद र सरकारमा पार्टीको भुमिको प्रभावकारिता, समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया