विद्यार्थी र शिक्षकको मिहेनतले एसईईको नतिजामा सुधार आएको हो : प्रधानमन्त्री

314 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मिहेनतका कारणले सम्भव भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अहिलेको तुलनामा अझ राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिनेसमेत उल्लेख गरे ।

एसईईको नतिजामा सुधार ल्याउन मिहेनत गर्ने विद्यार्थी र शिक्षकलाई शुभकामना व्यक्त गर्दै उनले भने, ‘धेरै वर्षपछि एसईईको नतिजामा सुधार देखिनु खुसीको अवसर हो, ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१ दशमलव ८१ प्रतिशत सफल हुनु राम्रो हो ।’

प्रधानमन्त्री ओलीले यो नतिजामा पनि केहीले भने नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै यो नतिजा र मिहेनतलाई अपमान नगर्न आग्रह गरे । ‘केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मिहेनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ’, उनले भने । 

प्रधानमन्त्री ओलीले प्राकृतिक विपदलाई सरकारले प्राथमिकतामा राखेकोसमेत उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारले तयारी गरिरहेको बताए । ‘नेपाल प्राकृतिक प्रकोपले जोखिमयुक्त देश हो । मनसुनको समयमा कहाँ कति बेला क्षति पुर्याउन सक्छ आँकलन गर्न सकिँदैन । यद्यपि हामीले राहत र उद्धारको पूर्व तयारी गरिरहेका छौँ’, उनले भने । रासस