सर्वोच्चका प्रश्तावित न्यायाधीशविरुद्धका उजुरीकर्तासँग समितिले गर्यो छलफल, सुनुवाई आइतबार

372 Shares

काठमाडौं । संसदीय सुनुवाई समितिले शुक्रबार प्रश्तावित सर्वोच्च अदालतका तीन न्यायाधीशविरुद्ध उजुरीकर्ताहरुसँग छलफल गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरेको हो । 

बैठकमा उजुरीकर्ता मनोजकुमार क्षेत्रीले प्रश्तावित न्यायाधीश पोखरेलले सार्वजनिक बाटो मास्न किर्ते कागजात तयार पारेको आरोप लगाउनु भयो । उजुरीकर्ता श्रेष्ठले पोखरेलकै प्रभावमा उक्त कागजात किर्ते नरहेको जिल्ला अदालत काठमाडौंले ठहर गरेको दाबीसमेत गर्नुभयो । उहाँले उक्त विषयमा नेपाल कानुन व्यवसायी परिषदमा उजुरी गरेकोमा क्षेत्राधिकार नरहेको भन्दै आफूलाई सम्बोधन गरेर पत्र लेखेको बताउनु भयो । 

प्रश्तावित न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरीकर्ताले जिल्ला अदालत बाँकेका एक कर्मचारीले गलत आशय र आचारणले मुद्दा लगाई फसाउने उद्देश्य राखेकाले कारबाहीका लागि निवेदन गरेकोमा थापाले प्रक्रिया अघि नबढाएको आरोप उजुरीमा लगानउनुभएको छ । उजुरीकर्ता आरती रावलले उच्च अदालत दिपालयको मुख्य न्यायाधीश रहँदा आफ्नो गुनासो सम्बोधन गर्नुको सट्टा सत्ता र शक्तिको दुरुपयोग गरी आफूलाई २५ दिन हिरासतमा राखेको आरोप लगाउनुभएको छ । 

प्रश्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई दुई वटा उजुरी परेको थियो भने अर्का प्रश्तावित न्यायाधीश थापाविरुद्ध एउटा उजुरी परेको थियो । उजुरीकर्तासँगको छलफल सकिएसँगै समितिले अगामी आईतवार सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाई गर्ने निर्णय गरेको छ ।