काठमाडौं । दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो ।
चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२ दशमलव एक अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको अवगत गराइएको छ।
त्यसैगरी, धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वीनवलपरासीमा ड्रिलिङ तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ ।
आगामी एक सय वर्षका लागि पुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन गर्न सकिने कम्पनीले जानकारी गराएको छ । नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम / स्टिल उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ । प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिँदै यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट पारे । यस्तै, प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम / स्टिल उत्पादान गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिए ।
छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दैलेखका सांसदहरुलगायत सहभागी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया